काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीले संसद्मा बोल्दा विपक्षी नेता सहभागी हुनुपर्ने प्रचलनलाई केपी शर्मा ओलीले नपछ्याएको भन्दै असन्तुष्टि जनाएका छन्। विश्वासको मत लिने क्रममा आइतबार साँझ प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीले बोल्दा विपक्षी नेता हुनुपर्छ भन्ने प्रचलन हो। ओलीजी यहाँ आउनुपर्छ। म ओलीजी बोल्दा सधैं आउँथें। त्यो ओलीजीले पच्छ्याउनुभएन। आज पनि उहाँ आउनुभएको भए बडा खुसी हुन्थे।’
उनले ओली प्रधानमन्त्री हुँदा जहिल्यै पनि विपक्षीलाई आक्रमण गरेको प्रसंग संकेत गर्दै भने, ‘प्रधानमन्त्रीले विपक्षीलाई धेरै आक्रमण गर्न हुँदैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ। प्रधानमन्त्रीलाई विपक्षीले आक्रमण गर्ने हो।’ बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी ओली शर्मा उपस्थित छैनन्।
प्रतिपक्षी दलका नेताले भनेका कुरा आफूले सुझावका रुपमा लिने उनको भनाइ छ। देउवाले भने, ‘हाम्रो पार्टी सहिषुणतामा विश्वास राख्छ।’ देउवाले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र संसद्लाई धन्यवाद दिए।