काठमाडौं– एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसद प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भएका छन्। उनीहरू मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै उनीहरू संसद् भवनबाट बाहिरिएका छन्।
यसरी निस्कनेमा घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्टलगायत छन्।
संसद्मा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनको भनाइ छ।
आफूहरूको उद्देश्य संसद् बचाउनु रहेकाले ठाकुर र महतोले विश्वासको मत दिने भएपछि संसद् बच्ने उद्देश्य पूरा भएको रावलले बताए।