काठमाडौं- पूर्वप्रधामन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले निर्दलीयतालाई प्रोत्साहन नगरेको टिप्पणी गरेका छन्। आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वास प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
'सर्वोच्चको व्याख्याले नेपालको संसदीय व्यवस्था परम्परागत नभएको व्याख्या गरेको छ। संविधानको धारा ७६ (५) बारे गरिएको व्याख्याले निर्दलीयतालाई प्रोत्साहन गरेको छैन,' उनले भने।
सर्वोच्चले प्रतिगमनतिर गएको देशलाई बचाएको उनको भनाइ छ। अब फैसलालाई संरक्षण गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ। 'दुर्घटनाको डिलमा पुगेको संविधान र राजनीतिक व्यवस्थालाई अदालतले जोगाएको छ। प्रतिगमनतिर लम्किएको देशलाई बचाएको छ। यसलाई संरक्षण गरेर अघि बढौं,' भट्टराईले भने।