काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी ओलीमा लोकतान्त्रिक संस्कार नरहेको भन्दै संसद्मा कटाक्ष गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिने कार्यक्रममा निवर्तमान प्रधानमन्त्रीका रूपमा उपस्थित हुनुपर्ने परम्परा रहेपनि ओली अनुपस्थित भएपछि प्रचण्डले यस्तो कटाक्ष गरेका हुन्।
'प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिने कार्यक्रममा पनि ओली जानु भएन। नयाँ प्रधानमन्त्रीले शपथ लिएपछि नयाँ र पुरानो प्रधानमन्त्रीको कुर्सी साटिन्थ्यो। तर उहाँ त्यहाँ जानुभएन,' प्रचण्डले थपे, 'यो अधिवेशनको यो पहिलो बैठक हो। पहिलो बैठकमा निवर्तमान प्रधानमन्त्रीका हैसियतामा उहाँकै मुखबाट उहाँका कुरा सुन्न पाउने अपेक्षा गरेका थियौँ। तर उहाँ आउनुभएन।'
उनले यो विषय सानो प्राविधिक जस्तो मात्र भएपनि लोकतान्त्रिक चरित्रको विषय भएको उनको भनाइ छ। 'यो गम्भीर नैतिकता र संस्कार र लोकतन्त्रको प्रश्न हो,' प्रचण्डले भने, 'के यो लोकतान्त्रिक संस्कार हो?'