काठमाडौं– नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता कसरी चल्छ, अब देख्न पाइने उद्घोष गरेका छन्। सर्वोेच्च अदालतको परमादेशबाट पुनर्स्थापित संसद्को बैठकमा आइतबार उनले कांग्रेसले चलाउने सत्ता हेर्न लायक हुने बताएका हुन्।
रिजालले भने, ‘बीपी कोइरालाको पार्टी हो कांग्रेस। शेरबहादुर देउवा सभापति भएको पार्टी हो। जितमा उन्माद हुँदैन। जित नपाएको दिन संविधानको संरचनालाई भत्काउन हिँड्दैन कांग्रेस।’
दुई तिहाइ भएपछि जे पनि गर्न पाइन्छ भनेर संविधान मिच्दै केपी ओली अघि बढेको बताउँदै रिजालले भने, ‘संविधान भत्काउने प्रयत्न भएपछि अदालतमा गएका हौं। अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन। मिलेमतोमा पदीय मर्यादा बिर्सेर काम गरेकाहरुलाई संविधान छ भनेर सम्झाउन खोजको हो। लोकतन्त्रको जित भएको छ। अदालतको कामप्रति अदालतलाई सम्मान गर्नुपर्छ। हामी सबैले मिलेर बनाएको संविधान हो यो। अहंकार नपाल्नुहोस्। सत्ता कसरी चल्छ, अब हेर्नुस्, सत्ता कस्तो चल्छ भन्ने अब देखिन्छ।’
देउवा नेतृत्वको सरकारले सदनलाई सम्मान गर्ने उनले बताए। विपक्षीबाट हरेक दिन सुनेका टिकाटिप्पणीबाट सरकार सच्चिने र ओली सरकारले गरेका राम्रा कामको निरन्तरता हुने उनले सुनाए। ‘शेरबहादुर देउवा प्रचण्ड, बाबुराम, माधव नेपाल र महन्थ ठाकुरलाई साथमा लिएर हिँड्नुहन्छ। त्यसैले विश्वासको मत दिनुस्। संविधान बनाउँदा संविधानसभाबाट बाहिरिनुभएका नेताहरु समय सापेक्ष बनाउन सकिन्छ भनेर आउनुभएको छ। अदालतलाई धेरै चर्को स्वरमा गाली गर्दा संविधान बलियो हुँदैन। हरेक सम्मानित संस्थालाई विश्वास गरेन भने लोकतन्त्र कमजोर हुन्छ।’
शेरबहादुर देउवा बहुमत हुँदा पनि प्रधानमन्त्री बन्न तयार नभएको स्मरण गर्दै रिजालले अब समृद्ध नेपाल र सुखी नेपालीको नारा देउवाले बोक्ने बताए।