सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शिवगंगा नदीमा पुलः सम्झौता अवधि सकियो, पप्पुको लापरबाहीले पिल्लर पनि ठडिएन

Siddartha premir insuranceSiddartha premir insurance

शिवगंगा नदीमा पुलः सम्झौता अवधि सकियो, पप्पुको लापरबाहीले पिल्लर पनि ठडिएन

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल निर्माणको काम सम्झौताअनुसार भएको भए गएको असार मसान्तमा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने थियो।
 |  आइतबार, साउन ३, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

आइतबार, साउन ३, २०७८

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल निर्माणको काम सम्झौताअनुसार भएको भए गएको असार मसान्तमा सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने थियो।

triton college

तर ठेकेदार कम्पनीको चरम लापरबाहीले पुल हस्तान्तरण गर्नुपर्ने समयसम्म पुलको एउटा पिल्लरसमेत ठडिएको छैन।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ साल असार २७ गते पुल बनाउन पप्पु एडभेन्चर जेभीसँग सम्झौता गरेको थियो। 

सडक डिभिजन कार्यालयका अनुसार पुलको सम्झौता अवधि २०७७ असार मसान्तसम्म थियो। १२ करोड ६२ लाख २४ हजार २६२ रुपैयाँ लागतमा १२४ मिटर लामो देवहरिया-बेहडाबाबा पुल निर्माण गर्ने सम्झौता गरे पनि निर्माण कम्पनीको लापरबाहीले पिल्लरसमेत राखिएको छैन।

शिवगंगा नदीमा पुल नहुँदा धनगढी उपमहानगरपालिका-१६, रामपुरस्थित बेहडाबाबा मन्दिर पुग्न तिर्थालुहरु १०० रुपैयाँ तिरेर डल्लपको सहायता लिनुपर्ने अवस्था छ।

बेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थीहरु आउने गरेका छन्। वेहडाबाबा मन्दिरमा धनगढीको मुख्य बजार हुँदै कनरीबाट पनि पुग्न सकिन्छ। तर, उक्त सडक भएर जाँदा २० किलोमिटर लामो पर्छ। जबकि देवहरियादेखि जाँदा यो सडक आधा छोटो पर्ने हुनाले यात्रुहरु जोखिम मोलेरै खोलो तर्न बाध्य छन्। पैसा हुनेहरु १०० रुपैयाँ तिरेर डल्लप चढेर नदी पार गर्छन्।

Metro Mart
vianet

यात्रुलाई सास्ती, डल्लपलाई मालामाल

कैलालीको धनगढी उप-महानगरपालिका–७ देवहरियाका व्यवसायी हरिबहादुर कटुवालको वडा नम्बर १६ ढाका टोलमा घर छ।
कटुवाल दैनिकजसो घरदेखि पसल र पसलदेखि घरसम्म सोही नदी तरेर आउजाउ गर्ने गरेका छन्। शनिबार पसलबाट घर जाँदै गरेका उनी नदी छेउ पुगेपछि अत्तालिए। डल्लप नभेटेपछि घुँडासम्म पानी आउने नदी पार गर्न उनलाई समस्या भयो। खुट्टामा घाउ भएपछि मलम पट्टी गरेको उनी नदी तर्दा पट्टीमा पानी पसे समस्या हुने चिन्तामा थिए।

नदी छेउमा बाख्रा चराउँदै गरेकी धनगढी उपमहानगरपालिका–१७ पथरीकी ३५ वर्षीय सीता चौधरी शिवगंगा नदी वारपार गरिरहेका मानिसलाई हेर्दै गुनासो पोख्दै थिइन्। ‘यहाँ पुल बन्ने भन्छन् तर, खै काम कहिले अघि बढ्ने हो’ उनले भन्दै थिइन्, ‘हामी मरेपछि बन्छ कि?’

पैसा हुनेहरु डल्लपलाई १०० रुपैयाँ तिरेर नदी पार गर्छन्, नहुनेहरु कम पानी भए जोखिम मोलेर नदी तर्ने गर्छन्। 
धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय भागिराम र मानबहादुर चौधरीले यात्रु, साइकल तथा मोटरसाइकललाई डल्लपबाट ओसारपसार गर्ने गरेका छन्।

डल्लपबाट यात्रुलाई ओसारपसार गर्दै आएका भागिरामले आवतजावतमा सहजता ल्याउन सेवा दिएको बताए। नदी तारेबापत् उनले दैनिक राम्रो आम्दानी गर्दै आएका छन्। उनले प्रति मोटरसाइकल वारपार गराएको १०० रुपैयाँ लिन्छन्। दैनिक १०० बढी मानिस यो नदी पार गर्छन्। उनले भने, ‘दैनिक मोटरसाइकल वारपार गराउँदा चार हजारसम्म आम्दानी हुन्छ।’ 

अर्का डल्लप चालक मानबहादुर चौधरीले वर्षायामको चार महिना नदीमा डल्लपबाट मोटरसाइल वारपार गराउने गरेको बताए।

ऋण खोजेर ५ लाख दिएँ, काम सुरु भएन : मेयर वड

धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समयमै पुल निर्माणका लागि दबाब दिँदासमेत निर्माण सुरु नभएको बताए। उनले सडक विभागलाई समेत यसबारे पटकपटक जानकारी गराइसकेको बताए।

ठेकेदारलाई निर्माण सुरु गर्न व्यक्तिगत रुपमा पाँच लाख दिएको वडले बताए। ‘मैले काम सुरु गर्न भनेर ऋण खोजेर पाँच लाख रुपैयाँसमेत दिएँ’, वडले भने, ‘पैसा पनि लग्यो, काम पनि सुरु भएन।’ 
उनले थपे, ‘बेहडाबाबालाई धार्मिक पर्यटकीय स्थल बनाउन अहिले हाम्रो, प्रदेश र केन्द्र सरकारको ठूलो बजेट छ। सोका लागि जसरी पनि बाटो बन्नुपर्छ र बन्छ पनि।’ 

वडा नम्बर १७ का अध्यक्ष माधवराज रानाले डल्लपबाट नदी पार गर्न वडाले कसैलाई ठेक्का नदिएको बताए। हामीले कसैलाई ठेक्का लगाएका छैनौँ उनले भने, ‘स्थानीयले जनताको सहयोगका लागि त्यो गरिरहेका छन्।’

सडक डिभिजन कार्यालय महेन्द्रनगर सूचना अधिकारी लक्ष्मणदत्त अधिकारीले फाउण्डेसनमा समस्या हुँदा निर्धारित समयमा निर्माणको काम नभएको बताए। ‘पाँचवटा फाउण्डेसनमध्ये दुईवटामा समस्या आयो’, सूचना अधिकारी लक्ष्मणदत्त अधिकारीले भने, ‘अब रिभ्यु गरेर सबै प्रक्रिया पुर्‍याएर हामी सडक डिभिजनमा पत्र पठाउँछौ। त्यहाँबाट स्वीकृत भएपछि निर्माण सुरु हुन्छ।’

 

 

प्रकाशित: Jul 18, 2021| 12:16 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।