काठमाडौं– एमाले उपाध्यक्ष भीम रावलले केही दिनअघि आफूलाई धम्की आएको बताएका थिए। नेकपा एमाले विभाजन रोक्न खोज्दा धम्की आएको उनको भनाइ थियो। त्यसको एक साता नबित्दै उनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
एमाले विवाद समाधानका लागि गठित कार्यदलका नेपाल पक्षका संयोजकसमेत रहेका रावल १० बुँदे सहमति गराउन सक्रिय थिए। रावलले राजीनामापत्रमा भनेका छन्, ‘उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हित भन्दा निजी स्वार्थ, अहम्, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झिने जुनसुकै नेपालीको मनमा घृणा उत्पन्न हुन्छ।’
उपाध्यक्ष रावलले बुधबार जारी गरेको विज्ञप्तिमा आफूलाई केही राजनीतिक दलका नेताहरूले फोनबाट धम्की दिएको उल्लेख गरेका थिए। धम्कीयुक्त फोन गर्नेको नाम नखुलाए पनि उनले एमाले एकता भएको देख्न नचाहनेहरूले धम्की दिएको उल्लेख गरेका थिए।
‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा एमालेलाई विभाजनबाट रोक्न प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ’, रावलले विज्ञप्तिमा लेखेका थिए।
‘मेरोविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा एमालेलाई विभाजनबाट रोक्न प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ’, रावलले विज्ञप्तिमा लेखेका थिए।
रावलले आइतबार संसद् पदबाट दिएको राजीनामा पत्रमा अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियारबाट बच्न आफू अलग हुन खोजेको उल्लेख गरेका छन्।
राजीनामा दिनुको कारण रावलकै शब्दमा–
झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोहअवरोह तथा घातप्रतिघात भोगेको छु र तिनको सामना गरेको छु। यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धका लागि गरेको थिएँ। राजनीति र त्यसका सबै संयन्त्र राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुखसमृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ।
तर, राजनीतिक नेतृत्वबाट त्यसविपरीतका काम हुँदै देश र जनताका लागि अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए। फलस्वरुप आज नेपाल र नेपालीकाे शिर निहुरिँदै गएको छ। अझै केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरमसत्ता र पदलिप्सा विधि र पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ।
अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु।
यस्ता विकृत तथा देश र जनताको हितविपरीतका क्रियाकलापविरुद्ध जुध्दै तिनलाई रोक्न जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरें। तर, पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हित भन्दा निजी स्वार्थ, अहम्, प्रतिशोधी र षडयन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झिने जुनसुकै नेपालीको मनमा घृणा उत्पन्न हुन्छ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु।
एमाले विभाजन रोक्न खोज्दा फोनबाट धम्की आएको भन्दै रावलले गत बुधबार जारी गरेको वक्तव्य

