काठमाडौं- प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरेका हुन्।
१५ मिनेटपछि बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठककै दिन विश्वासको मत लिने भएका हुन्।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले धारा ७६ (४) को व्यवस्था अनुसार विश्वासको मत लिनेछन्। धारा ७६ (४)मा प्रधानमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
देउवाले विश्वासको मत पाउन १३६ सांसदको मत आवश्यक पर्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सांसद् उपस्थित छन्। त्यसको बहुमत १३६ जना हो।
कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४८ र एक जनता स्वतन्त्र सांसद गरी ११० जना सांसदले देउवालाई विश्वासको मत दिनेछन्। देउवालाई प्रधानमन्त्री नयुक्त गर्न परमादेश माग्ने बेला जसपा उपेन्द्र यादव समूहका १२ जना सांसदले हस्ताक्षर गरेका थिए। तर, प्रतिनिधिसभा पुनःस्थापनापछि महन्थ ठाकुर र राजेन्द्र महतो समूहका सात सांसद आफ्नो समूहमा आएको दाबी यादव पक्षले गरेको छ।
त्यसो हुँदा देउवाका पक्षमा १२९ सांसद पुग्छन्। त्यो भनेको विश्वासको मत सिद्ध गर्न पुग्ने संख्या भन्दा ७ कम हो। परमादेश माग गर्दा एमालेको माधव नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका थिए। तर, देउवाले विश्वासको मत लिन नेपाल समूहका सात सांसदले मत दिए पुग्ने अवस्था आएको छ। यदि नेपाल समूहका २३ जना नै सांसदले विश्वासको मत दिए देउवाका पक्षमा १५३ जना सांसद पुग्नेछन्।