काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा चलिरहेको बहसमा अध्यक्ष उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ।
यादवको पक्षबाट ११ जना अधिवक्ताहरुले बहस गरेका छन्। वीरेन्द्र ठाकुर, मिथिलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायतले यादवको पक्षबाट बहस गरेका हुन् ।
उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरेको छ। उनीहरुले कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत यादव पक्षको बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट गर्न आग्रह गरेका छन्।
अहिले महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि केही समयका लागि ब्रेक भएको आयोगले जनाएको छ। ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
ठाकुरको पक्षबाट कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो, प्रकाश केसी, विजयकान्त न्यौपाने, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने भएका छन् । दुवै पक्षको बहस आजै सकिने अनुमान गरिएको छ।