काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।
सरकारको सिफारिसमा उनले अध्यादेश खारेज गरेकी हुन्। नवगठित शेरबहादुर देउवा सरकारले शनिबार उक्त अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
राष्ट्रपति भण्डारीले ०७८ मसिरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिइन्। सोही दिन मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
संवैधानिक परिषद् अध्यादेशमा प्रधानमन्त्रीसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको थियो। त्यस्तो बैठकमा अध्यक्षसहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्ने व्यवस्था गरिएको थियो।
