काठमाडौं- प्रधानमन्त्री बनेपछि शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको घर पुगेका थिए। उनीहरुबीच त्यहाँ सदनमा विश्वासको मत यथाशिघ्र रुपमा लिने विषयमा कुराकानी भएको रहस्य आज खुलेको छ। नेता नेपालको सुझावअनुसार नै प्रतिनिधिसभामा बैठक बसेको पहिलो दिन नै विश्वासको मत लिने निर्णय भएको नेताहरुले बताएका छन्।
एमाले विवाद समाधान कार्यदलमा रहेका नेताहरुसँगको भेटघाटमा आज आइतबार बिहान नेता नेपालले नै ‘देउवासँगको भेटमा छिट्टै विश्वासको मत लिने विषयमा कुराकानी भएको’ स्वीकारेका छन्। उनले आफूले नयाँ प्रधानमन्त्री देउवलाई यसबारे गृहकार्य गर्न समेत सुझाव दिएको बताएका थिए।
कार्यदलका सदस्यहरुसँगको अनौपचारिक छलफलका क्रममा नेता नेपालले आफूहरुले देउवालाई विश्वासको मत दिने प्रतिवद्धता गरेको समेत जिकिर गरे। ‘मैले उहाँसँग कमिटमेन्ट गरेको थिएँ, अहिले आएर अर्को कुरा गर्ने काम पनि भएन,’ छलफलका लागि नेपाल निवास कोटेश्वर पुगेका एक एमाले नेताले नेपालको भनाइ उधृत गर्दै सुनाए, ‘संसद् जोगाउने विषयमा लडियो, अब बेइमानी गर्ने कुरा राजनीतिक कुरा होइन।’
भेटमा भीम रावल लगायत उनकै पक्षका भीम आचार्य पनि नेता नेपालको कुरामा असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरुको भनाइ ‘विना सल्लाह निर्णय लिइएको’ भन्नेमा थियो।
उता, प्रधानमन्त्री नियुक्त भइसकेपछि नेता नेपालबाट यस्तो सुझाव र प्रतिवद्धता पाएका शेरबहादुर देउवाले नेपालसँगकै भेट भएको साँझ आफू निकट नेताहरुसँग ‘अब हामीले छिटै नै विश्वासको मत लिने तयारी गर्नुपर्छ’ भन्दै सल्लाह गरेका थिए। देउवा निवासमा भएको त्यो अनौपचारिक सल्लाहमा यसबारे छिटै गठबन्धनका अरु शीर्ष नेताहरुसँग पनि छलफल हुनुपर्ने र सदन बसेको पहिलो दिन नै विश्वासको मत लिनुपर्ने निष्कर्ष निकालिएको थियो।
सोहीअनुरुप हिजो साँझ गठबन्धनका नेताहरुको भेटघाट र छलफल भएको थियो। ‘शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि छिटै विश्वासको मत लिने कुरा भएको र हिजो साँझ नेताहरुको बैठकले पनि त्यही निर्णय गरेकाले आजै प्रधानमन्त्रीले सदन फेस गर्ने कुरा भयो,’ देउवालाई राजनीतिक रुपमा सघाइरहेका एक नेताले नेपाल समयसँग भने, ‘त्यसैले आज बिहान संसद सचिवालयमा विश्वासको मतबारे प्रस्ताव दर्ता गरिएको हो।’
शनिबार साँझको गठबन्धनको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए। पछिल्लो यो बैठकमा नेपालले पनि यथाशिघ्र विश्वासको मत लिनुपर्ने, त्यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ती नेताले बताए।
नेता नेपाल बाहेक माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी सो बैठकमा हिजै दिउँसो मात्र जसपा यादव समूहमा महन्थ ठाकुर समूहबाट थपिएका सांसदको संख्याका विषयमा पनि छलफल भएको थियो। ‘परिस्थिति मध्यनजर राख्दै आजै विश्वासको मत लिने कार्यक्रम तय भएको हो,’ कांग्रेसका ती नेताले बताए।
नेताहरुका अनुसार सदनमा प्रधानन्त्री देउवाले आवश्यक मतभन्दा धेरै नै मत आर्जन गर्नेछन्। प्रतिनिधिसभा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादवको पक्षमा १७ र राष्ट्रिय जनमोर्चाकी एक सांसद गरी देउवाको पक्षमा १२८ मत पुग्छ। प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्याउन प्रधानमन्त्री देउवालाई १३६ मत आवश्यक पर्छ।
एमालेको माधव नेपाल समूहको कम्तिमा ८ मत पाएमा उनले विश्वासको मत पाउनेछन्।