काठमाडौं– पूर्ववर्ती केपी ओली सरकारले ११ वटा मुलुकका लागि नियुक्त गरेका राजदूतको नियुक्ति शेरबहादुर देउवा सरकारले खारेज गरिदिएको छ।
संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरेको भन्दै यसको विरोध भएको थियो। साउन १ गतेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति खारेजको निर्णय गरेको बताइएको छ।
राजदूत नियुक्त भएकाहरुको एग्रिमो भने आइसकेको थिएन। तर त्यसका लागि सम्बन्धित मुलुकमा पत्राचार भने भएको थियो।
गत जेठ १ गते ओली सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्ति गर्न सिफारिस गरेको थियो।
ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो।
त्यसैगरी रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्की नियुक्त भएका थिए। कार्कीको भने योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको नियुक्ति खारेज गरेको थियो।
ओली नेतृत्वको अघिल्लो सरकारले राजदूत नियुक्त हुन कम्तीमा स्नातक उत्तीर्ण गरेको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्ने व्यवस्थालाई संशोधन गरी पूर्वमन्त्रीको हकमा स्नातक उत्तीर्ण हुन नपर्ने व्यवस्था गरेको थियो। तर सर्वोच्चले त्यसलाई खारेज गरेको थियो।