काठमाडौं- एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छन्।
समाजिक सञ्जालमा उनले लेखेकी छन्, 'हामीले संविधानको धारा ७६(५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौं। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौं।' उनले आफूहरूकै अग्रसरतामा अदालतले परमादेश आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कर्तव्य भएको बताएकी छन्।
'सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौं', उनले भनेकी छन्। त्यसो गर्न नसकिए सांसदहरूलाई संसदको पुरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न उनको आग्रह छ। 'यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं', उनले भनेकी छन्।