काठमाडौं- आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ। सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनःस्थापित भएपछि पहिलो बैठक बस्न लागेको हो।
पुनःस्थापित भएको ६ दिन भित्र सर्वोच्च अदालतले बैठक आदेश दिएको थियो। सोही अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कोरोना संक्रमणको जोखिम कायममै रहेकाले अधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्।
यस अधिवेशनमा २०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा देखिने भएको छ। प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१, नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ र जनता समाजवादी पार्टी नेपालको ३४ सिट छ। प्रनिनिधिसभामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सिट छ भने छक्कबहादुर लामा स्वतन्त्र सांसदका हैसियतमा छन्।
यस्तो छ आजको सम्भावित कार्यसूची
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाइनेछ।
यसअतिरिक्त सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ।
शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। अधिवेशनको प्रारम्भमा दलका नेताहरूले संसद बैठकलाई सम्बोधन गर्न सक्नेछन्।
