काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गर्नेलाई कारबाही नहुँदासम्म छानबिन अघि नबढ्ने भएको छ। क्रियाशील सदस्यता छानबिनको विषयलाई लिएर केन्द्रीय सदस्य घिमिरेमाथि हातपात भएपछि छानबिन कार्य रोकिएको छ।
शुक्रबार समितिका सदस्य समेत रहेका नेता घिमिरेबाट सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले गालीगलौज र दुर्व्यवहार गरेका थिए। बस्नेत कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन्।
घटनाका दोषीलाई कारबाही नभएसम्म क्रियाशील छानबिनको कामै नगर्ने समितिको अडान छ। समितिले छानबिनको काम रोकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार अपराह्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन्। दोषीमाथि कारबाही नहुँदासम्म काम अघि नबढ्ने समितिका एक सदस्यले जानकारी दिए।