काठमाडौं- विवेकशील नेपाली दलका पूर्वसंयोजक स्वर्गीय उज्जवल थापाको उपचारमा २४ लाख खर्च भएको परिवारले सार्वजनिक गरेको छ। उनको उपचारका लागि रकम संकलन गरेको परिवारले उक्त विवरण शनिबार सार्वजनिक गरेको हो।
'उज्ज्वल थापाको उपचार गर्न संसारभरबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ संकलन भएको थियो। त्यसको एक तिहाइभन्दा केही बढी रकम २४ लाख २० हजार ३४९ रुपैयाँ उपचारमा खर्च भएको थियो,' परिवारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। यसका साथै बैंक तथा रकम स्थानान्तरण गर्न १ लाख १० हजार ९३४ रुपैयाँ खर्च भएको थियो।
उपचार गरी बचेको ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७ संस्थालाई प्रदान गरिएको स्व थापाकी श्रीमती एरिका अधिकारीले बताएकी छन्।थापाको उपचारका लागि परिवारले गरेको सहयोग संकलनमा करिब २८ सय व्यक्ति तथा संस्थाले १० देखि १ लाख १० हजार ३४५ सम्म प्रदान गरेका थिए। उक्त रकम सम्बन्धित दाताहरूलाई फिर्ता गर्न गाह्रो भएकाले सात संस्था छनोट गरी प्रदान गरिएको अधिकारीले उल्लेख गरेकी छन्।
स्व थापाको परिवारले भोरे नेपाल, सर्लाहीलाई २ लाख ५० हजार, हार्टबिट काठमाडौँलाई २ लाख, मधेश ह्युमन राइट्स होम, कपिलवस्तुलाई २ लाख ०२ हजार २०१, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँलाई ५ लाख, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँलाई १५ लाख, ओडा फाउन्डेसन, कालिकोटलाई १० लाख र सानो पाइला, वीरगन्जलाई ६ लाख वितरण गरेको बताएको छ।