काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विवाद समाधानका लागि गठन गरिएको तत्कालीन कार्यदलका सदस्यहरू ओली निवास पुगेका छन्। प्रधानमन्त्रीबाट हटेपछि नेता नेपालप्रति ओली झन् आक्रामक रूपमा प्रस्तुत भएकाले एमालेको विवाद झन् चर्किँदै गएको अवस्थामा तत्कालीन कार्यदलका सदस्यहरू ओली निवास पुगेका हुन्।
ओलीसँग भेटघाटका लागि जानुअघि तत्कालीन कार्यदलका सदस्यहरू शनिबार बिहान छलफलमा जुटेका थिए। उनीहरूले पार्टीलाई एक बनाउन अन्तिम कसरत गर्ने सहमति गरेका थिए। अध्यक्ष ओली भेट्न विघटित कार्यदलका सदस्यहरू साँझ ६ बजे ओली निवास बालकोट पुगेका थिए। उनीहरूको छलफल जारी रहेको बालकोट स्रोतले बताएको छ।
शनिबारको बैठकमा उनीहरूले सहमति कार्यान्वयन गर्ने दुवै नेतालाई आग्रह गर्ने समति गरेका थिए। त्यसैअनुरुप शनिबार साँझ ओलीसँग भेट गरिएको बताइएको छ। शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले एमाले कार्यदल विघटन गर्ने निर्णय गरेको थियो।