बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हतियारधारी समूहबाट सुनचाँदी पसलमा दिउँसै लुटपाटको प्रयास 

हतियारधारी समूहबाट सुनचाँदी पसलमा दिउँसै लुटपाटको प्रयास 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलका खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियारधारी समूहले दिनदहाडै लुटपाटको प्रयास गरेको छ। 
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलका खगेन्द्र थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा हतियारधारी समूहले दिनदहाडै लुटपाटको प्रयास गरेको छ। 

पसल सञ्चालक थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति पसलभित्रै रहेको समयमा लुटेरा समूह पसलभित्र प्रवेश गरेको थियो। लुटेरा समूह पसलभित्र छिरेपछि ६ वर्षे बालक भने निस्किएर आत्तिँदै भागेको सीसीटिभी फुटेजमा देख्न सकिन्छ। थापाका अनुसार बसिरहेका बेला पसलभित्र छिरेर अचानक दुई व्यक्तिले चुप लाग्न र होहल्ला नगर्न चेतावनी दिएर पसलको सटर लगाउन खोजे। त्यसपछि झोलाबाट बन्दुक निकालेर गोली फिट गर्न थालेको उनको भनाइ छ।

पेस्तोल पनि निकालेर ताक्न थालेपछि पसलबाट भाग्न सफल भएकी श्रीमतीले बाहिर निस्किएर होहल्ला गर्न थालेसँगै छरछिमेकी र स्थानीय बासिन्दाले घटनाका बारेमा थाहा पाएको थापाले बताए। 

स्थानीय बासिन्दा जम्मा हुन थालेको थाहा पाएपछि लुटेरा समूह वरपर भेला भएकाहरुलाई हतियार देखाएर तर्साउँदै भागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पसलभित्र पैसा र सुनचाँदी भए पनि लुटेर लैजान भने पाएनन्।

सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने अत्याधुनिक हतियार एसएमजी र पेस्तोलसहित आएको चार जनाको अज्ञात समूह शिव पञ्चायन ज्वेलर्समा शुक्रबार दिउँसो ३ बजेतिर प्रवेश गरेको थियो।

प्रहरीका अनुसार थापाले आफ्नै घरभित्रको पसलमा सुनचाँदीसहित केही पैसा राखेका थिए। उक्त पैसा र सुनचाँदी लुटपाट गर्ने योजना बनाएर हतियारधारी समूह दुईवटा मोटरसाइकलमा आएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। 

घटनालगत्तै प्रहरीले चारैतिर नाका सिल गरेर खोजी तीव्र पारिएको जनाएको छ। विभिन्न प्रहरी युनिटसँग समन्वय गर्दै लुटेराको खोजी गर्न इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा विशेष टोली खटाइएको छ। एसपी जिसीले घटनास्थलबाट प्राप्त सिसीटिभी फुटेज र केही प्रमाणका आधारमा लुटपाट मच्चाउन खोज्ने समूहको पहिचानको प्रयास गर्दै खोजी तीव्र पारिएको बताए। 

सिसीटिभी फुटेजमा लुट्न आएकाहरु अन्दाजी २५ देखि ४० वर्ष उमेर समूहका जस्तो देखिन्छन्। विशेष सूचनाका आधारमा लुटेरा समूह भागेको बाटोको पहिचान गरेर उनीहरुको पिछा गर्दै प्रहरी निरीक्षक खनाल नेतृत्वको टोली गछिया खोलासम्म पुगेको थियो। तर गछिया खोला नै पार गरेर मोटरसाइकलमा उनीहरु भागेको पाइएपछि सबैतिर नाका सिल गरेर खोजी तीव्र पारिएको एसपी जिसीले बताए।

प्रकाशित: Jul 17, 2021| 12:56 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।