काठमाडौं- नेकपा एमालेमा जारी विवाद समाधान नहुँदै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
पार्टीको असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन यसअघि गरिएको प्रयासलाई समेत थाती राखेर साउन ४ गते बिहान ११ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यसअघि शुक्रबार ओलीले स्थायी कमिटी बैठक बोलाएर आफ्नो पक्षका नेताहरुको सहभागितामा छलफल गरेका थिए। माधव नेपाल निटक नेताहरुले स्थायी कमिटी बैठक रोकेर दुई शीर्ष नेताबीच छलफल गरी जारी विवाद निरुपण गर्न सुझाए पनि ओलीले उनीहरुको सुझाव ठाडै इन्कार गरेका थिए।
विवाद समाधानका लागि गठित कार्यदललेसमेत ओलीले भंग गरिसकेका छन्। कार्यदलले बनाएको १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन गरेर कार्यदल भंग गरिएको भनिए पनि अनुमोदन गरिएको सहमति कार्यान्वयनका लागि ओली उदासिन देखिन्छन्।
जारी विवादकै बीच केन्द्रीय कमिटी बैठक बोलाएपछि उक्त बैठकमासमेत माधव नेपाल पक्ष सहभागी हुने सम्भावना न्यून देखिन्छ। यद्यपि उक्त पक्षले कुनै प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन।
यसअघि कार्यदलमा रहेका पार्टीका दोस्रो तहका नेताहरु शनिबार पनि विवाद समाधानका लागि भन्दै छलफलमा जुटेका छन्।