काठमाडौं- जनता समाजवादी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका ५ सांसदले विद्रोह गरेका छन्।
सांसदहरु अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रुही नाथले ठाकुर पक्षको साथ छोडेर उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका हुन्।
यसअघि ठाकुर पक्षमा रहेका ती सांसदहरु बालकुमारीस्थित पार्टी कार्यालयमा जारी यादव पक्षकाे संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएका छन्। यसअघि संसद विघटनको विपक्षमा नै उभिएका प्रमोद साह केही समयदेखि महन्थ ठाकुरसँग थिए।
पछिल्लोपटक सर्वोच्चको फैसलाले संसद पुनर्स्थापना गरिदिएसँगै उनीलगायतका ५ सांसद उपेन्द्रको कित्तामा पुगेका छन्।
अब उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन्।
जसपाका दुई अध्यक्ष ठाकुर र यादव पक्षबीच जारी विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ।
यादव पक्षका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए भने ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी नै भएको थियो।
जसपाभित्र जारी विवाद निरुपणका लागि निर्वाचन आयोगले साउन ३ गते बिहान ११ बजेका लागि इजलास बैठक राखेको छ। बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ।