काठमाडौं– नेकपा एमालेकी सांसद गंगा चौधरीले केही नेताहरुले पार्टी हितका विपक्षमा लाग्न आफूलाई दबाब दिइरहेको बताएकी छन्।
उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो दाबी गरेकी हुन्। ‘मलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको छ कृपया दुःख नगर्नुहोला मित्रहरु,’ उनले लेखेकी छन्।
एमालेको असन्तुष्ट माधव नेपाल समूहका केही सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने बताइरहेका बेला चौधरीको यस्तो भनाइ आएको हो। चौधरी एमालेकी समानुपातिक सांसद हुन्। उनी ओली निकट छिन्।
‘म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन। यो स्पष्ट हो र यो मेरो प्रण पनि हो।’
‘म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन। यो स्पष्ट हो र यो मेरो प्रण पनि हो,’ उनले भनेकी छन्, ‘पार्टी जेठ २ मा फर्काउने माग पनि पूरा भएको छ। कार्यदलले पार्टी एकताको सहमति गरिसकेको छ।’
कार्यदलकै सुझावअनुसार बोलाइएको पार्टी बैठकमा उपस्थित भएर आफ्ना कुरा नराखेर बहिष्कार गर्नु, अनेक अत्तो थापिरहनु, अर्घेल्याइँ गरिरहनु, विपक्षीसँग मिलेर आफ्नै पार्टीको सरकार ढाल्न मरीहत्ते गरेर लाग्नु, ढालिसकेर पनि अझै चित्त नबुझेर विपक्षीसँग अनैतिक साँठगाँठ गरिरहनु यो सब के हो मैले बुझ्न सकेको छैन,’ उनले फेसबुकमा लेखेकी छन्। पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमानदार कार्यकर्ताका हैसियतले त्यसको अक्षरशः पालन गर्नु आफ्नो कर्तव्य भएको उनको भनाइ छ।