जनकपुरधाम- प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा दिएका छन्।
मन्त्री यादव र राज्यमन्त्री सिंहले आ–आफ्नो राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएका छन्। प्रदेश सरकारमा माओवादी केन्द्रलाइ समेत सहभागी गराउने तयारी भएपछि दुवैलाई मुख्यमन्त्री राउतले राजीनामा गराउन लगाएका हुन्। दुवैलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर विदाइ समेत गरेका छन्।
मन्त्रीपरिषद् विस्तारको तयारी चलिरहेको अवस्थामा मार्गप्रशस्त गर्न आफूले राजीनामा दिएको यादवले बताए। उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकाले आफ्नो राजीनामा आएको जानकारी दिए।
यता, माओवादी स्रोतका अनुसार आज दिउँसो ३ बजे सरकारमा सहभागी भई मन्त्रीहरुले शपथ हुन लागेको छ। माओवादी संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ।