काठमाडौं- गठबन्धनमा रहेको नेकपा एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने नहुने टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई पनि सरकारमा सहभागी गराउन चाहेकाले अहिलेसम्म मन्त्रालय विस्तारमा ढिलाइ भइरहेको हो।
‘प्रधानमन्त्रीज्यूले एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षलाई पनि मन्त्रालय छुट्याउनु भएको छ। तर, उहाँहरुको टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तार केही लम्बिएको हो,’ कांग्रेसका एब नेताले भने। उनका अनुसार कसलाई कति मन्त्रालय दिने भन्ने टुंगो लागे पनि कुनकुन मन्त्रालय दिने भन्ने निर्णय भइसकेको छैन। कांग्रेस निकट स्रोतका अनुसार प्रधानमन्त्रीसहित कांग्रेसले ९, नेकपा एमालेको माधव नेपाल पक्षले ६, नेकपा माओवादी केन्द्रले ५ र जसपाको उपेन्द्र यादव पक्षले ५ मन्त्रालय लिने सहमति भइसकेको छ।
एमालेको नेपाल पक्षलाई प्रधानमन्त्री देउवाले नै सरकारमा सहभागी हुन भने पनि पार्टीभित्रको विवाद लगायतले तत्काल यसबारे नेपालले निर्णय गरिसकेका छैनन्। जसपाको उपेन्द्र यादव पक्ष सरकारमा जाने भए पनि पार्टीको आधिकारिकता विवादको निरुपण नभएसम्म तत्कालै सहभागी भइ नहाल्ने अवस्था छ। त्यसै कारण सरकार निर्माण भएको साता दिन हुन लाग्दा पनि प्रधानमन्त्री देउवाले आफूसहित पाँच सदस्यीय मात्रै मन्त्रिपरिषद् बनाएका छन्।
कोरोना महामारी रोकथाम र नियन्त्रणका केन्द्रीत हुनुपर्ने बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिलेसम्म कसैलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन भने अरु मन्त्रालयको अवस्था पनि उस्तै रहेको छ।
गठबन्धनमा रहेका नेताहरुसँग छलफल गरेर प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ।