जनकपुरधाम- प्रदेश २ सरकारमा माओवादी केन्द्रलाई शामिल गराउने भएपछि एक मन्त्रीले राजीनामा दिने भएका छन्।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिन लागेका हुन्।
नेकपा माओवादी केन्द्रलाई सरकारमा शामिल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारले तयारी गरेपछि उनी राजीनामा दिन लागेका हुन्। मन्त्रिपरिषद विस्तारको तयारी चलिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिन लागेको मन्त्री यादवले बताए।
उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफ्नो राजीनामा आउन लागेको जानकारी दिए।
यता, माओवादी स्रोतका अनुसार आज दिउँसो ३ बजे सरकारमा सहभागी भई मन्त्रीहरूले सपथ लिन लागेका हुन्। माओवादी संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ।