काठमाडौं- शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठक महाधिवेशन केन्द्रित भएको नेता रमेश लेखकले बताएका छन्। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका नेता लेखकले सरकारका विषयमा भने छलफल नभएको बताएका हुन्।
शुक्रबारको बैठकमा समयमै महाधिवेशन गर्ने गरी सबै तयारी अघि बढाउने छलफल भएको उनको भनाइ छ। ‘बैठकमा आसन्न महाधिवेशनलाई समयमा नै सम्पन्न गर्ने विषयहरुसँग केन्द्रित भएर छलफल भयो। मूलतः तीन समितिका विषयमा छलफल केन्द्रित थियो। क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति र समायोजन समितिले गरेका काम र प्रगतिबारे छलफल भयो,’ उनले भने।
लेखकका अनुसार सप्तरी र बारा जिल्लामा पार्टीको आन्तरिक समायोजनमै ढिलाई भएका कारण क्रियाशील छानबिनमा पनि ढिलाइ भएको छ भने बाँकी जिल्लाको काम सकिएको छ। ‘बारा र सप्तरीमा पार्टीको आन्तरिक समायोजनमै समस्या भएका कारण क्रियाशीलको प्रक्रिया नै ढिला भयो। त्यहाँका कागजात हामीले भर्खर पाएका छौँ। तीबाहेक सबै जिल्लाको कागजात हामीले हेरिसकेका छौँ,’ उनले भने।
बैठकले निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकाको मस्यौदामाथि छलफल गरी अन्तिम रुप दिन सहमहामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएकोसमेत उनले जानकारी दिए।
उनले महाधिवेशन कार्यतालिका हेरफेरका विषयमा भने कुनै छलफल नभएको बताए। ‘अहिले महाधिवेशन सार्ने भन्ने कुरा छैन। हामीले समयमै महाधिवेशन गर्ने गरी नै तयारीलाई अघि बढाउने गरी छलफल भएको छ। त्यहीअनुसार निर्वाचन समितिलाई आफ्नो तयारी अघि बढाउन बैठकले निर्देशन गरेको छ,’ लेखकको भनाइ छ। उनका अनुसार अहिलेसम्म ८ लाख ५२ हजार क्रियाशील सदस्य सूचीकृत भएका छन्। अब कांग्रेसको क्रियाशील सदस्यको संख्या जनसम्पर्क समितिसहित ९ लाख हाराहारी पुग्नेछ।
भर्खरै कांग्रेस नेतृत्वमा सरकार बने पनि सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा भने पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भने कुनै छलफल नभएको उनको भनाइ छ। कांग्रेसमा मन्त्री हुने आकांक्षीहरूको सूची लामो भएको तर गठबन्धन सरकार भएका कारण बढीमा ८ मन्त्रालय मात्र कांग्रेसले पाउने भएकाले त्यसलाई मिलाउन देउवालाई सकस पर्ने देखिएको छ।