काठमाडौं- फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट नेपाल बाहिर परेको छ। एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेलतालिका सार्वजनिक गरेपछि प्रतियोगितामा नेपाल सहभागी हुने सम्भावना समाप्त भएको हो।
च्याम्पियनसिपको तयारीका लागि भन्दै नेपाल भलिबल संघ (एनभीए)ले असारको सुरुबाट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। प्रारम्भिक चरणमा बोलाएका खेलाडीबाट केही पहिलो चरणको खेलाडी छनोट पनि गरिसकेको थियो।
एक महिनाबाट चलिरहेको बन्द प्रशिक्षणमा १८ खेलाडी अभ्यासरत थिए। अब उनीहरुले शनिबारबाट बन्द प्रशिक्षण छोड्नेछन्।
यता एभीसीले शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा ८ टिमको मात्र सहभागिता निश्चित गरेको छ। च्याम्पियनसिपमा ८ टिमलाई समान ४–४ टिमको दुई समूहमा विभाजन गरिएको छ। जहाँ फिलिपिन्स, काजकस्तान, चाइनिज ताइपेई र उज्वेकिस्तान पोल 'ए'मा छन् भने थाइल्यान्ड, कोरिया, इरान र अस्ट्रेलिया पोल 'बी'मा छन्। नेपालसँगै कोभिडको महामारीले प्रभावित भएको भारत पनि प्रतियोगिता खेल्नबाट वञ्चित भएको छ। च्याम्पियनसिप अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ।
