बुटवल- लुम्बिनी प्रदेशका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बलजफ्ती, निरंकुश र स्वेच्छाचारी ढंगलले सरकार चलाएको भन्दै तत्काल राजीनमा दिन माग गरेका छन्।
विपक्षी गठबन्धले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार सदनबाट भागेर निर्लज्जताको पराकाष्ठ नाघेको बताउँदै अध्यादेशबाट बजेट ल्याउनु नै सरकार असंवैधानिक र अल्पमतमा रहेको पुष्टि भएको आरोप लगाएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उप्रेन्द्र) पक्ष र राष्ट्रिय जनमोर्चाले प्रदेशसभा चलिरहेका बेला बैठक बहिष्कार गरी अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वच्छेचारी कदम भएको बताएका हुन्।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको कुरा घामजस्तै छर्लङ भएको बताए। उनले राज्यमन्त्रीबाट सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको दुनियाँलाई थाहा भएकाले तत्काल राजीनामा दिनुपर्ने बताए। उनले अल्पमतले शासन गर्न नपाउने बताए।
नेकपा माओवादीका प्रमुख सचेतक तुलाराम घर्ती मगर ‘बसन्त’ ले सरकार स्वच्छेचारी तथा असंवैधानिक रुपमा अघि बढेर अध्यादेशबाट बजेट ल्याएकोमा आपत्ति जनाए। उनले संसदमा सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा असंवैधानिक रुपमा अध्यादेशबाट बजेट ल्याएकाले तुरुन्त राजीनामा दिन माग गरे। उनले प्रदेश प्रमुखकै भूमिका सरकारको कार्यकर्ता जस्तो भएको बताए।
लुम्बिनी प्रदेशमा विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको भन्दै यसअघि पनि मुखयमन्त्रीको राजीनामा माग गरेका थिए।