काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा कटाक्ष गरेका छन्।
देउवा सरकारले गठबन्धनको कुनै राजनीतिक र सैद्धान्तिक पुष्ट्याइँसमेत गर्न नसेकेको उनको तर्क छ। संसद भवन नयाँ बानेश्वरको ल्होत्सेहलमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले बर्तामान सरकारकाे कुनै औचित्य नभएको पनि दाबी गरे।
उनले बर्तमान सरकारलाई सबै कुरा मिलाउन कठिन भएको भन्दै माइतीघर फिल्मको गीत गुनगुनाउँदै त्यो सम्भव नभएको बताए। ‘माइतीघरको म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु भन्ने जस्तै म मन्त्री बनाई दिन्छु। म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्, पार लाग्दैन।’ ओलीले भने।
आफ्ना सांसदहरुलाई सम्बाेधन गर्दै उनले बर्तमान सरकारले यातायातको भाडा वृद्धि गरेकोमसेत भन्न भ्याए। उनले भने, ‘गच्छदारको रिहाइ, आलम आतंक र यातायातको भाडा वृद्धि एउटा उदाहरण हो।’ बर्हिगमन हुँदै गर्दा सर्वोच्च अदालतको फैसला आएकै दिन ओली सरकारले आयायात क्षेत्रमा झण्डै २८ प्रतिशत भाडा वृद्धि गरेको थियो। तर आफैले भाडा बढाएका ओलीले भाडा वृद्धि गरेको आरोपसमेत देउवा सरकारलाई लगाएका छन्।
उनले आफूहरुले कांग्रेस-माओवादीले जस्तो झुट नबोल्ने दाबी गरे। ‘सरकारलाई राष्ट्रघात, जनहितविरुद्ध काम गर्न दिँदैनौँ। रचनात्मक प्रतिपक्षको भुमिका खेल्छौँ।’ उनले भने।
ओलीले अदालतले किर्ते कागजलाई मान्यता दिएको र अल्पमतलाई सरकार बनाउन परमादेश दिएको आरोप लगाए। ‘अदालतले दलीय संरचना समाप्त गर्ने आधार तयार गर्यो, ह्विप नलाग्ने, ह्विप उल्ल्घन गरे कारबाही गर्न नपाइने’ ओलीले प्रश्न गरे, ‘मागै नभएको महाअभिओगमा पनि ह्विप नलगाउने फैसला किन आयो?’
उनले न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संबैधानिक इजलास निवेदकको र बार एसोसिएशनको दबाबमा बनेबाटै षड्यन्त्र सुरु भएको आरोप लगाए।
सांसदहरुलाई लामो मन्तव्य दिएका उनले सर्वोच्चको संवैधानिक इजलासको फैसलामा सहमति नभए पनि आफूहरु लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिएको बताए।
‘एमालेविरुद्ध अझ धेरै षड्यन्त्र सुरु हुनेछ, सदन छोटो समय बसेर टुङ्गाउन सक्छन्।, अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन्।’ ओलीले थपे, ‘प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन्।’
ओलीले यो सरकारलाई आफूहरुको समर्थन नरहने स्पष्ट पार्दै कसैले समर्थन छ भनेको छ भने त्यो व्यक्तिगत धारणा रहेको बताए। उनले आफू नेतृत्वको सरकारले ल्याएको खोपबारे वर्तमान सरकारले भ्रम फिजाउन थालिसकेको आरोपसमेत लगाए।