काठमाडौं- नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ लिएका छन्। महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालतमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सर्वोच्च अदालतमा महान्यायाधिवक्ताले लिएको शपथग्रहण यो पहिलो पटक हो।
यसअघि राष्ष्ट्रपति कार्यालयमा महान्यायधिवक्ताले प्रधानन्यायाधीसबाट शपथ लिने परम्परा थियो। महान्यायधिवक्ताले कानुनी रुपमा प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट शपथ लिनेलाई मात्रै शपथ खुवाइने बताइएको छ।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले राष्ष्ट्रपतिको कार्यालयले शपथग्रहण गराउन चासो नदेखाएकाले सर्वोच्च अदालतमै शपथग्रहणको कार्यक्रम राखिएको जानकारी दिए।
यद्यपि यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका दुवै जना महान्यायाधिवक्ता अग्नि खरेल र रमेश बडालले भने राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए। राष्ट्रपति कार्यालयले उक्त परम्परा तोड्दै सर्वोच्चमै महान्यायाधिवक्ताको शपथ कार्यक्रमको व्यवस्था गर्न भनेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खातीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।
महान्यायाधिवक्ता खातीले आजै महान्यायाधिवक्ताको कार्यालयमा पगेर पदभार ग्रहणसमेत गरेका छन्।
