काठमाडौं- लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सारेसँगै आइतबारदेखि अन्तर्वार्ताका कार्यक्रम कमलपोखरीबाटै सञ्चालन हुने भएका छन्।
आयोगको अनामनगरको केन्द्रीय कार्यालयमा २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि कमलपोखरीस्थित लोकसेवाको पुरानै ठाउँमा भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण गरेर कार्यालय सारिएको हो।
आयोगले आइतबारका लागि तोकिएको स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता कमलपोखरीको नयाँ भवनमा हुने गरी सूचनासमेत प्रकाशित गरिसकेको छ। लोकसेवा आयोगका आयुक्तको कार्यालय आजै सारिने र अन्य शाखा क्रमिक रुपमा सारेर साउन अन्तिमसम्ममा पूर्णरुपमा कार्यालय सारिने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए। उनले भने, ‘आयोगले अब अन्तर्वार्तालगायतका काम सबै नयाँ भवनबाटै सञ्चालन हुन्छन्। शाखाहरु भने क्रमिकरुपमा सार्दै लाने तयारी छ।’
पूनर्निर्माण प्राधिकणले नयाँ भवन निर्माणको लागत ७१ करोड १२ लाख २८ हजार रहेको जनाएको छ। जमिनमुनि दुई र माथि ६ तलाको उक्त भवनमा दुईवटा लिफ्टसमेत राखिएको छ। तीन वर्षको निर्माण अवधि रहेकोमा निर्धारित समयभन्दा तीन महिना थप समय लगायर भवन निर्माण सम्पन्न भएको हो। नयाँ भवन पूर्ननिर्माण प्राधिकणले २०७४ साल चैतबाट सुरु गरेर गत फागुनमा निर्माण सम्पन्न गरेर लोकसेवा आयोगलाई हस्तान्तरण गरेको थियो।
लामो समय केन्द्रीय कार्यालय रहेको कमलपोखरीबाट भूकम्प जानुअघि नै लोकसेवा कार्यालय अनामनगर सरेको थियो। १० वर्ष अनामनगरमा रहेको कार्यालय नयाँ भवन निर्माण भएसँगै पुरानै ठाउँमा सरेको हो।