काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी स्थायी कमिटी बैठक स्थगित गर्न अस्वीकार गरेका छन्। एमालेको स्थायी कमिटी बैठक ललितपुरमा जारी छ। बैठक रोक्न माग गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूसँग बैठकस्थलमा पुगेका थिए।आफूहरूले बैठक रोक्न गरेको आग्रहलाई अध्यक्ष ओलीले अस्वीकार गरेको नेता भीम रावलले जानकारी दिए।
रावलले आफूहरूले १० बुँदे सहमति कार्यान्वयन गरी एमालेको एकता आवश्यक रहेको बताएका थिए। उनले भने, ‘पार्टी अध्यक्ष निवास बालकोट जाँदा दिएको अभिव्यक्तिले गाह्रो परिस्थिति ल्याएको छ। हामीले दलको बैठक पनि स्थगित गर्न भनेका छौं।’ तर अध्यक्ष ओलीबाट ठोस कुरो केही नआएको उनले बताए। उनले भने, ‘हामी पार्टी एकताप्रति जिम्मेवार छौं भनेर अध्यक्षलाई भनेका छौं।’ उनले आफूहरूको आग्रह ओलीले नमानेपछि बैठक स्थलबाट बाहिरिएको बताए।
आफूहरूले पार्टी एकतामा जोड दिँदै १० बुँदे सहमति गरेको नेपाल पक्षका नेताहरू बताउँछन्। सहमतिलाई स्थायी र केन्द्रीय कमिटी बैठकमा लैजाने सहमति भएको थियो। यस्तै सहमतिको बुँदामा कार्यदलले गरेको सिफारिस अनुमोदन गरेर एमालेलाई एकताबद्ध बनाउने उल्लेख छ। तर ओली पक्षले एकलौटी ढंगले बैठक बोलाएपछि नेपाल पक्षी कार्यदल त्यसलाई रोक्न माग गर्दै बैठक स्थलमा पुगेको थियो।