काठमाडौं- काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय पाउने ठाउँ अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका छन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै ओलीले उक्त कुरा बताएका हुन्। उनले अब आफूहरू न्याय प्राप्तिका लागि जनताको माझमा जाने बताए।
ओलीले बैठकको सुरुआत गर्दै भने, ‘अब हामी सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौं। हामी जनताको माझमा गएर विकास निर्माणलगायतमा कडा खबरदारी गर्नेछौं।’
एमाले स्थायी कमिटीको आजको बैठकमा सर्वोच्चको फैसलाका कारण सत्ताबाट हट्नुपरेपछि अपनाइने रणनीति र पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलमा भएको सहमतिबारे छलफल गर्ने कार्यसूची छ।
एमाले स्थायी कमिटीको आजको बैठकमा सर्वोच्चको फैसलाका कारण सत्ताबाट हट्नुपरेपछि अपनाइने रणनीति र पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलमा भएको सहमतिबारे छलफल गर्ने कार्यसूची छ। बैठकमा आफ्नै पार्टीको सरकार ढाल्न सघाउने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथि के गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित छन्।
नेता नेपालसहित एमालेका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। अदालतको आदेशपछि केपी ओली प्रधानमन्त्री पदबाट हटेका छन् भने शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। देउवा नेपाली कांग्रेस, एमाले वरिष्ठ नेता नेपाल समूह, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाको गठबन्धनमा प्रधानमन्त्री भएका हुन्। नेता नेपालले देउवालाई विश्वासको मत दिने आश्वासन दिँदै आएका छन्।