काठमाडौं- बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबारदेखि सम्पूर्ण पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ। प्रतिष्ठान शुद्धिकरणको माग राख्दै आएको संघर्ष समितिले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीलाई जानकारी गराउँदा पनि यसमा चासो नदेखाएकाले आजदेखि अस्पतालका सेवा प्रभावित हुने समितिले जनाएको छ।
प्रतिष्ठानमा भ्रष्टाचार एवं अनियमितता भएको भन्दै विगत ३१ दिनदेखि कर्मचारी तथा स्वास्थ्यकर्मीले आन्दोलित छन्।
समितिले विभिन्न माग राख्दै पदाधिकारीको कार्यकक्षमा तालाबन्दि गरेको हो। समितिले असक्षम पदाधिकारीको राजीनामा एवं बहिर्गमन गर्नुपर्ने, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गरिनुपर्ने, अबका दिनमा चयन हुने पदाधिकारीज्यूहरु विशिष्टिकृत, एवम् विज्ञहरूको समूह बनाई उक्त समूहले सिफारिस गरेको व्यक्तिमात्र चयन हुने वातावरण बनाइनुपर्ने माग गरिएको छ। प्रतिष्ठानलाई शुद्धिकरण गर्नुपर्ने भन्दै प्रतिष्ठानका पदाधिकारी चयन गर्ने पद्धति नै गलत भएको बीपी प्रतिष्ठान संघर्ष समितिले जनाएको छ।
मागहरूको यथोचित् सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीहरूले सामूहिक राजीनामा दिई प्रधानमन्त्री कार्यालय घेर्ने संघर्ष समितिको चेतावनी छ।