बागमती- कोभिड १९ का कारण नेपालमा बालबविवाहका घटनामा खासै कमी नआएको एक तथ्याँकले देखाएको छ। बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक बर्षको अवधिमा बालविवाहको संख्यामा खासै कमी नआएको जनाइएको छ।
मन्त्रालयका अुनसार बागमति प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै धादिङमा बालबविवाह बढी हुने पाइएको छ। धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। वाग्मती प्रदेशकै काठमाडौंमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ।
मन्त्रालयका अनुसार बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको संख्या पनि उत्तिकै छ। कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नभएको मन्त्रालयको तर्क छ।
बीस वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि बालविवाह घटनामा खासै कमी आउन सकेको छैन। सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ। ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ।
उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था गरेको छ।
सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ। वाग्मती प्रदेश सरकारले पनि प्रदेशबाट बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरिसकेको अवस्था देखिन्छ। तर, पनि बालबविवाह रोकथाममा उल्लेख्य सुधार नसकेकोमा सरोकारवालाहरुको चिन्ता छ।
हेटौँडा अस्पतालमा गत चैत १ देखि वैशाख १५ गतेसम्म दैनिक एक जनाका दरले ४५ किशोरी कम उमेरमै आमा भएका छन्।
बालबाविवाह रोक्नका लागि कार्यक्रम सञ्चालन गरिरहेकी अस्मिता नेपालकी अध्यक्ष आरती पाठक बालविवाह रोक्नका लागिबनेको ऐन कानुन लागु गर्नका लािग स्थानीय सरकारले जोड दिनुपर्ने बताउँछिन्।
उनका अनुसार अनुसार बालबालिकालाई विद्यालयस्तरमा विषयगतरूपमा नै यसका बारेमा पढाइ हुनुपर्ने छ।
यता कम उमेरमा आमा भएका तथ्याङ्कहरुले पनि बालविवाह कायमै रहेको संकेत गरिरहेको छ। हेटौँडा अस्पतालमा गत चैत १ देखि वैशाख १५ गतेसम्म दैनिक एक जनाका दरले ४५ किशोरी कम उमेरमै आमा भएका छन्। यो अवधिमा हेटौँडा अस्पतालमा आमा बनेका २५६ मध्ये २० वर्षभन्दा कम उमेरका ४५ जना छन्। तीमध्ये किशोरावस्थामै दोस्रो सन्तान जन्माउनेको सङ्ख्या नौ छ। अस्पतालको तथ्याङ्कअनुसार मकवानपुरका ४०, बाराका तीन र सर्लाहीका दुई जना किशोरावस्थामै आमा बनेका हुन्। कलिलै उमेरमा विवाह गर्ने किशोरी र उनीबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ। बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ।
पछिल्लो डेढ महिनामा २० वर्ष नपुग्दै सन्तान जन्माउने सबैभन्दा बढी हेटौँडा उपमहानगरका २३ जना छन्। तीमध्ये ६ जना दोस्रोपटक आमा बनेको अस्पतालले जनाएको छ।
हेटौँडा अस्पतालका महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ डा राघवेन्द्र ठाकुरका अनुसार कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहने गर्दछ। किशोरीको शारिरीक विकास नै हुने क्रममा रहेको अवस्थामा स्वयं आमा बन्दा यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने उनी बताउँछन्। रासस