काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी भएको छ। भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएको महाधिवेशनको कार्यतालिका फेरि हेरफेर गर्न लागिएको हो।
क्रियाशील सदस्यता छानबिनको काम नसकिएपछि कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ बाट महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका पास गरेको थियो।
‘महाधिवेशनमा मत क्रियाशील सदस्यले हाल्ने हो। अब मतदाताको अन्तिम टुंगो नै लाग्न सकेको छैन। त्यसैले तल्ला तहका अधिवेशन सार्ने तयारी भइरहेको छ,’ ती नेताले नेपाल समयसँग भने। उनका अनुसार भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने मिति यथावत् रहनेछ। तर, वडादेखि प्रदेश अधिवेशनसम्मको मिति भने हेरफेर गरिनेछ।
महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा लैजाने तयारी गरिएको छ। त्यसका लागि मंगलबार नै बैठक बोलाइएको थियो।
तर, सर्वोच्च अदालतले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बैठक स्थगित गरिएको थियो। त्यसपछि बिहीबार (आज)का लागि बोलाइएको बैठक पनि शुक्रबारसम्मका लागि सारिएको छ।
शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा कार्यतालिका हेरफेरको प्रस्ताव पेश हुनेछ। ‘पदाधिकारी बैठकमा यसबारे छलफल हुन्छ। मुख्य एजेण्डा यही हो। त्योबाहेक नयाँ मन्त्री र मन्त्रालयका विषयमा छलफल हुनेछ’, ती नेताले भने, ‘पदाधिकारी बैठकले कार्यतालिका पास गरेपछि केन्द्रीय समितिबाट अनुमोदन हुनेछ।’
कार्यतालिकाअनुसार असार मसान्तसम्म क्रियाशील छानबिन समितिले काम सकेर सभापति शेरबहादुर देउवालाई अन्तिम नामावली असार २० गतेसम्म बुझाउनुपर्ने थियो। क्रियाशील सदस्यको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समयसीमा असार ३० गतेसम्मका लागि तोकिएको थियो। तर, निर्धारित समयमा काम हुन सकेन। हालसम्म क्रियाशील छानबिनको कामसमेत सकिएको छैन। सोही कारण कार्यतालिका हेरफेर गर्नुपर्ने स्थिति आएको ती नेताको भनाइ छ।
असार ४ गतेको केन्द्रीय समितिले साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन १६ गते गाउँ/नगरपालिका अधिवेशन गर्ने गरी मिति तय गरेको थियो। यस्तै साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गर्ने तय थियो।