काठमाडौ- सर्वोच्च अदालतले तत्कालीन मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध रूपा सुनुवारले दिएको जारी दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ। जातीय विभेदकी आरोपी सरस्वती प्रधानलाई हिरासतमुक्त गराउन तत्कालीन मन्त्री कृष्णगोपाल श्रेष्ठ पुगेको भन्दै यसले मुद्दाको अनुसन्धान प्रभावित भएको भन्दै रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन्। न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले उक्त जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश दिएको हो।
‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भइ हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू,’ सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ।
यस्तै सुनारको जिउज्यानको सुरक्षा गराउन पनि सर्वोच्चले आदेश दिएको छ। यसैगरी अनुसन्धान प्रभावित गर्ने खालका र सद्भाव भड्काउने प्रकृतिका सामग्री प्रसारण नगराउन पनि अदालतले सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ।




