सुर्खेत- असार २५ गते जुम्लाको सिँजा गाउँपालिका-६ का विवेन्द्र नेपालीले सोही वडाका अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाविरुद्ध प्रहरी कार्यालयमा जातीय विभेदको मुद्दा दर्जा गराए। कुटपिट तथा गालीगलौज गरेको किटानी जाहेरी लिएको प्रहरीलाई जिल्ला अदालत जुम्लाले २७ गते आरोपीलाई पक्राउ गर्न पुर्जी जारी गर्यो।
अदालतले जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीलाई पक्राउ पुर्जीको आदेशसहितको पत्र थमायो। तर अदालतबाट पुर्जी पाएको पाँच दिनसम्म पनि दोषी पक्राउ परेका छैनन्।
जातीय विभेद गर्ने वडाध्यक्षलाई प्रहरीले नै संरक्षण दिएको पीडित विकेन्द्रको आरोप छ। ‘प्रहरीले त सुरुमै मुद्दा लिन मानेको थिएन, अनेक दबाबपछि मुद्दा दर्ता गरेको थियौं’ विकेन्द्रले नेपालसमयसँग टेलिफोनमा भने, ‘सत्ता र शक्तिको आडमा प्रहरीले जातीय विभेद गर्नेलाई संरक्षण दिएको छ।’ प्रहरीकै लापरबाहीका कारण वडाध्यक्ष बुढा र उनका छोरालाई पक्राउ पर्न नसकेको पीडितले आरोप लगाए।
‘दोषी भाग्ला र पक्राउ गर्न गएको नाटक गरौँला भनेर प्रहरीले कुरेको छ’ उनले भने, ‘प्रहरीले दोषीलाई पक्राउ गर्न चाहेको भए सुरुकै दिन गाउँ जानसक्थ्यो।’ अदालतले पक्राउ पुर्जी दिएको पाँच दिनसम्म पनि दोषी पक्राउ नपर्नुमा प्रहरी नै जिम्मेवार रहेको उनको आरोप छ। उनले भने, ‘सत्ताको भरमा प्रहरीले उनलाई संरक्षण दिएको छ।’
उसो त घटना असार ८ गते भए पनि पीडित असार २२ गते जाहेरी दिन प्रहरी कार्यालय पुगेका थिए। तर त्योबेला प्रहरीले जाहोरी लिन मानेन। दलित अधिकारकर्मीहरुको दबाबपछि मात्रै प्रहरीले जाहेरी लिएको थियो। पीडितले असार ८ गते अध्यक्षले बुढा र उनका छोरा नवीनले अपशब्द प्रयोग गरी गालीगलौज तथा कुटपिट गरेको भन्दै उजुरी दिएका थिए।
सुरुमा प्रहरीले घटना मिलाउने भन्दै दुवै पक्षसँग छलफलसमेत गरेको थियो। वडाध्यक्षले यातायात, खानेपानीलगायतका विषयमा सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा टिप्पणी गरेपछि आफूलाई वडाध्यक्ष र उनका छोराले कुटपिट तथा गालीगलौज गरेको पीडितले बताएका छन्। वडाध्यक्ष बुढा नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन्। उनी बिहीबार गाउँसभामा समेत सहभागी थिए।
यता जिल्ला प्रहरी कार्यालय जुम्लाले भने जातीय विभेद्को मुद्दा छानबिनकै पक्रियामा रहेको दाबी गरको छ। ‘पीडितले दिएको उजुरीका आधारमा प्रहरी अनुसन्धानमा छ’, डीएसपी दानबहादुर थापाले भने, ‘दोषीलाई आजको आजै पक्राउ गर्नुपर्छ भन्ने छैन, अध्ययन अनुसन्धान भइरहेको छ। घटनाको वास्तविकता बुझेर मात्रै प्रहरी अगाडि बढ्छ।’ मुद्दा छानबिनको क्रममा रहेका कारण छिट्टै टुङ्गोमा पुग्ने प्रहरीको दाबी छ।