काठमाडौ– अध्यक्ष केपी शर्मा ओलीले डाकेको नेकपा एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन्।
भोलि शुक्रबारको बैठक सार्न आग्रह गर्ने र नसारे बैठकमै नजाने तयारी रहेको नेपाल पक्षका सांसद सुरेन्द्र पाण्डेले नेपाल समयलाई जानकारी दिए । यद्यपि यस विषयमा थप छलफल हुने उनले बताए।
‘हामी भोलिको बैठक सार्न आग्रह गर्छौ। यदि सार्न नमाने हाम्रो तरिकाले अगाडि बढ्छौं,’ उनले भने। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको छ। संसद् अधिवेशनको पूर्वसन्ध्यामा संसदीय दलको बैठक बोलाउने प्रचलनअनुसार बैठक बोलाइएको सचेतक भट्टराईले बताए।
बैठकका लागि नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ। नेपाल पक्षका २३ सांसदको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए।