काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टीका महामन्त्री शशांक कोइरालाको निवासमा बैठक बोलाएको छ। छलफलका लागि महामन्त्री कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षका नेताहरू पुग्ने क्रम सुरु भइसकेको छ। दिउँसो २ बजेका लागि बोलाइएको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएपछि पौडेल समूहले छलफल डाकेको हो।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछिको अवस्थाका बारेमा छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। 'हाम्रो नेतृत्वमा सरकार बनेको छ। हामी चुनौतीको पहाडमा छौं। अवसरका खात पनि हामीसँग छन्, अहिलेसम्म पार्टीमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको छैन। हामीले आज यस विषयमा पनि कुरा गर्नेछौं,’ केसीले भने।
'भदौभित्र महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने बाध्यतामा हामी छौं। छानबिन समितिले आजसम्म काम सक्नुपर्ने थियो। तर, काम सकिएको छैन। जटिलता देखिएका छन्,' केसीले भने, 'यसबारेमा पनि हामी छलफल गर्नेछौं।'
प्रधानमन्त्री बनेपछि देउवा पार्टीभित्र छलफल नगरेकोमा पौडेल पक्ष असन्तुष्ट छ। आफ्नो तर्फबाट मन्त्रीको नाम नमागेको र कति मन्त्री दिने भन्नेबारे पनि स्पष्ट नभएकोप्रति पौडेल पक्ष रुष्ट छ। कोइराला निवासमा हुने भेलामा यस विषयमा छलफल हुने बताइएको छ। पौडेल पक्षले सरकारमा सम्मानजनक उपस्थिति चाहेको छ। देउवाले पौडेल पक्षसँग मन्त्रीको नाम मागिहाले कसलाई पठाउने भन्ने बारेमा पनि छलफल हुने बुझिएको छ।
यस्तै क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तसम्म काम नसक्दा पौडेल समूह सशंकित बनेको छ। रमेश लेखक नेतृत्वको समितिले काम नसकेपछि त्यसबारेमा छलफल गर्ने पौडेल समूहको तयारी छ। 'भदौभित्र महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने बाध्यतामा हामी छौं। छानबिन समितिले आजसम्म काम सक्नुपर्ने थियो। तर, काम सकिएको छैन। जटिलता देखिएका छन्,' केसीले भने, 'यसबारेमा पनि हामी छलफल गर्नेछौं।'
कांग्रेसले भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। तर, सभापति देउवा प्रधानमन्त्री बनेको अवस्था र कार्यतालिकाअनुसार तयारी अघि नबढ्दा महाधिवेशन समयमै हुनेमा शंका उब्जिएको छ।