धनगढी- बिहीबार बिहानदेखी परेको वर्षाका कारण कैलालीको अत्तरिया क्षेत्र डुवानमा परेको छ। यस्कै कैलालीकै कर्णाली र मोहनामा पानीको बहाव बढेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १ र ४ का दर्जन बढी घर डुवानमा परेका छन्। भालू खोलामा आएको बाढी बस्तिमा पसेपछि बनखेतका चार घर र बास्कोटाका १० घर डुबानमा परेको प्रहरीले जनाएको छ।
कैलाली प्रहरीका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार मनहरा खोलामा आएको बाढीसमेत बस्तीमा पसेको छ। महोहरा खोलामा आएको बाढीका कारण गेटा मेडिकल कलेज आसपासको क्षेत्रमा रहेका घर डुबानमा परेका छन्।
बिहीबार बिहानदेखि आएको वर्षाका कारण मोहना नदी र कर्णाली नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। 'कैलालीको चुरे क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ,’ प्रहरी प्रबक्ता विष्टले भने, ‘यसले तराईका अन्य खोलानालामा समेत पानीको बहाव बढ्न सक्ने देखिन्छ, हामी जोखिममा रहेका वस्तीमा जानकारी गराउँदैछौं।’
जल तथा मौसम पूर्वानुमा महाशाखा काठमाडौंकी बरिष्ठ मौसम विद् प्रतिमा मानन्धरले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुन सक्रिय रहेको बताइन्। जसका कारण सुदूरपशिचम र कर्णाका केही स्थानमा बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ। शनिबार मनसुन थप सक्रिय हुन सक्ने भएकाले अधिकांश स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको बरिष्ठ मौसम विद मानन्धरले बताइन्।
