काठमाडौं- विगत दुई/तीन दिनदेखि काडमाडौंको फोहोर उठ्न सकेको छैन। फोहोर नउठाइँदा सहरमा दुर्गन्ध बढेकाे छ।
निरन्तर वर्षाका कारण नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल क्षेत्र पानीले भरिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा कठिन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले फोहोर उठाइरहेको भए पनि पहिलेको तुलनामा रफ्तार घटेको बताए। ‘पटक्कै फोहोर उठेको छैन भन्ने होइन। सिसडोल भरिएका कारण सबै फोहोर उठ्न नसकेको हो', श्रेष्ठले भने, ‘फोहोर उठाएर व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं।’
एकातिर सिसडोल भरिँदा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेको छ भने अर्कोतिर निरन्तरको वर्षातका कारण बाटो बन्द भएको उनले जानकारी दिए। उपत्यकामा करिब दैनिक १२ सय टन फोहोर संकलन हुने गरेको छ। जसमध्ये ९ सय टन सिसडोलमा व्यवस्थापन हुन्छ भने ३ सय टन स्थानीय तहले व्यवस्थापन गर्दे आइरहेको छ।
सिसडोल क्षेत्र भरिएको र बेला-बेला स्थानीयले गरेको अवरोधका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापन चुनौतिको विषय बन्दै आएको छ। फोहोरमैला व्यस्थापन गर्ने सिसडोल क्षेत्र भरिएपछि व्यवस्थापनका लागि विकल्पको रुपमा नजिकैको बन्चरे डाँडालाई पहिचान ग रेपनि काम सुरु हुन सकेको छैन। महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठले सिसडोलको बाटो खुलेपछि फोहोर तुरुन्तै उठाउने बताए।