काठमाडौं- निषेध आदेशबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमखु जिल्ला अधिकारीहरूको बैठकले उपत्यकाको आगामी निषेध आदेशको मोडालिटी तय गर्ने छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकामा १५ दिन निषेध आदेश थप गर्नेगरी छलफल हुने बताए। उनले आज दुई बजेपछि आफूहरूबीच निषेध आदेशका बारेमा छलफल हुने जानकारी दिए।
निरौलाले बैठकमा लामो दूरीका यातायात खुला गर्नेबारेमा पनि छलफल भइरहेको बताए। 'नागरिकले निकै सास्ति पाइरहेका छन्। अब लामो दूरीका यातायात पनि सञ्चालन गर्ने हो की? अहिले पनि विभिन्न बहानामा लामो दुरीका सवारी सञ्चालन भइरहेका छन्। लामो दूरीको सवारी सञ्चालन अन्य जिल्लाहरूसँग पनि सम्बन्धित रहेकोले के गर्ने भन्नेबारे छलफल गरिने छ', उनले भने।
यसअघि थपिएको निषेध आदेशको अवधि आज मध्यरात १२ बजेबाट सकिन लागेसँगै त्यसबारे निर्णय गर्न बैठक बस्न लागेको हो। उपत्यकाको निषेध आदेश केही खुकुलो गरिए पनि शैक्षिक संस्था, फिल्म हल, पार्टी प्यालेस, जिम घरलगायत बन्द रहेका छन्।