काठमाडौं- नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा मन्त्रालयले आफैसँग राख्न पार्टीको नेतृत्वमा बनेको नयाँ सरकारलाई सुझाव दिएको छ।
बुधबार दिउँसो बसेको विभागको बैठकले शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले शिक्षा मन्त्रालय सत्ता साझेदार अरु दललाई नदिन आग्रह गरेको हो।
विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासका लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको निश्कर्षका साथ नेपाली कांग्रेस शिक्षा विभाग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व स्वयं पार्टीले नै लिन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।’
साथै विभागले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य मन्त्रीहरुलाई बधाई र शुभकामना पनि दिएको छ।