काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन्। बैठक बिहीबार २ बजेका लागि डाकिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाले सरकारमा कांग्रेसका तर्फबाट चयन हुने मन्त्री, पार्टीको आसन्न चौधौं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी बैठक डाकेका हुन्।
सर्वोच्च अदालतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि कांग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सरकारमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मात्र सामेल छन्। यस्तै माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल नियुक्त भएका छन्।
बाँकी मन्त्रालय देउवा आफैंले सम्हालिरहेका छन्। ती मन्त्रालयमा नियुक्त हुने मन्त्रीको छनोट र पार्टीको आसन्न चौधौं महाधिवेशनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक डाकेको एक नेताले जानकारी दिए। कांग्रेसको महाधिवेशन आगामी भदौमा हुँदैछ।