काठमाडौं– डीएम फाउन्डेसनले शैक्षिक छात्रवृत्ति कार्यक्रमका लागि एफएमएनडब्ल्यू (पूर्व मिस नेपालहरूको सामाजिक संस्था) सँग सहकार्य गरेको छ।
यो छात्रवृत्तिले कोभिड–१९ बाट बुवाआमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने बताइएको छ।
छात्रवृत्ति कार्यक्रम चन्दा संकलनबाट सञ्चालन हुनेछ। त्यसका लागि इच्छुक व्यक्ति वा संस्थाले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडमा डीएम फाउन्डेशनको आधिकारिक बैंक खातामा रकम पठाउन सक्नेछन्। यो रकम आधिकारिक वेबसाइटमा सूचीबद्ध सेलपे, फोनेपे र ई–सेवाको क्यूआर कोड स्क्यान गरेर पनि पठाउन सकिने फाउन्डेसनले जनाएको छ।
छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरूले आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। कोभिड–१९ कारण आमा वा बुबा अथवा दुवै गुमाएका विद्यार्थी यसका लागि योग्य हुनेछन्। डीएम फाउन्डेशनले सन् २०१४ मा डीएम छात्रवृत्ति सुरु गरेको थियो।