काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा अख्तियारले मुद्दा चलाएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको बयान सकिएर थुनछेक बहस सुरु भएको छ। विशेष अदालतमा उनको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो। उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा थुनछेक बहसले तय गर्नेछ।
गच्छदारको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, महादेव यादव, कृष्ण सापकोटा र अधिवक्ता ललित बस्नेत र लीलामणि पौडेलले बहस गर्ने छन्। मुद्दाको सुनुवाइ न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा भइरहेको छ।
उनी विशेष अदालतमा आज बिहान १० बजे नै उपस्थित भएका थिए। अभियोगपत्र अदालतमा दायर भएर म्याद तामेल भएको १४ महिनापछि उनी विशेष अदालतमा बयानका लागि उपस्थित भएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकै भोलिपल्टै गच्छदार विशेष अदालतमा उपस्थित भएका हुन्। उनीविरुद्ध मुद्दा चलेपछि म्याद नबुझेरै अहिलेसम्म उनी भूमिगत जस्तै भएर बसेका थिए।
अदालतमा सुरुमा सुनसरीमा म्याद तामेल गरेको थियो। त्यहाँ म्याद तामेल भएको अवधिमा पनि अदालतमा उपस्थित नभएपछि दोस्रोपटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो। त्यति गर्दा पनि उनी उपस्थित नभएपछि विशेष अदालतले सार्वजनिक सूचनासमेत जारी गरेको थियो। त्यती हुँदा पनि उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएका थिए।
बालुवाटार प्रकरणमा आफूमाथि अन्याय भएको भन्दै जोगाइदिन बारम्बार गच्छदारले देउवालाई आग्रह गर्दै आएका थिए। अहिले देउवा नै प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट अदालतमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।