काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरे पनि माधव नेपाललाई पार्टिभित्र कुनै स्थान नभएको बताएका छन्।
‘आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गर्नेलाई एमालेभित्र अब कुनै स्थान छैन,’ प्रधानमन्त्री निवास बालुवाटारबाट बुधबार निजी निवास बालकोट फर्केका ओलीले निवासमा भएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘अरु साथीहरु कमजोरी स्वीकारेर आउँछन् भने उनीहरुलाई दलभित्र स्वागत हुनसक्छ तर माधव नेपालाई यहाँ कुनै पनि स्थान छैन।’
सम्बोधनका क्रममा उनले अदालतको परमादेशपछि बनेको शेरबहादुर देउवा सरकारप्रति पनि तीव्र असन्तुष्टि प्रकट गरे। भने, ‘सधैं परमादेशबाट किस्तीमा सरकार कहाँ पाइन्छ र?’
अध्यक्ष ओलीले माधव नेपालले नै प्रतिपक्षीहरुसँग मिलेर आफ्नो सरकार ढालेको आरोप लगाए। भने, ‘माधव नेपालको गल्ती कमजोरी स्वीकार्ने ठाउँ छैन। उनले नै नै प्रतिपक्षीसँग मिलेर मेरो सरकार ढालेको हो। यस्तालाई स्वीकार्न सकिन्न।’
पार्टीमा देशीविदेशी शक्तिको घुसपैठ भएर कमजोर पारिएको भन्दै उनले विकाउ तत्वहरु प्रतिक्रियावादीहरुका पछि लागेको आरोप पनि लगाए। ‘पार्टीका विरुद्ध, जनताको शक्ति र आफ्नै सरकार ढाल्नका लागि राष्ट्रपति र अदालतमा विरोधीलाई मोहरा बनाएर लगे,’ उनले नेपालप्रति कडा आक्रोश पोख्दै भने, ‘लाजसरम हराएका मानिसहरुले गर्दा आफ्नै सरकार ढाल्ने काम भयो।’
ओलीले यसो भनिरहँदा बालकोटमा जम्मा भएका नेता कार्यकर्ताहरुले माधव नेपालविरुद्ध नारावाजी गर्दै मुर्दावाद भनेका थिए। ‘जनादेशबाट होइन परमादेशबाट अकारण, काम गर्न नसकेर होइन, देशको विकास गर्न नसकेर होइन, संविधान कार्यान्वयन गर्न नसकेर होइन, जालझेल, कपट र षडयन्त्र गरेर हटाइएको हो,’ उनले भने, ‘अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर कायम गरेर बहिर्गमन गराइएको हो। अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कही नभएको जात्रा कायम गरिएको छ।’