काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी धरान पुगेका छन्। विगत एक महिनादेखि प्रतिष्ठानको अनियमितताविरुद्ध स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आन्दोलन गरिरहेका छन्।
त्यही आन्दोलनलाई ऐक्यबद्धता जनाउन डा. केसी पुगेका हुन्। साथै प्रतिष्ठानमा आन्दोलन गरिरहेका आन्दोलनरत पक्षसँग तत्काल आवश्यक वार्ता गरी समस्याको समाधान गर्न सरकारसँग विज्ञ समूहले आग्रह गरेको छ।
मंगलबार प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. मदन उपाध्याय सहित प्रा.डा. रुपा सिंह राजभण्डारी, डा. सुन्दरमणि दिक्षित, डा. शेखर कोइरालाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै ‘बीपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाउँदै तत्काल समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेका हुन्।
शिक्षा र अनुसन्धानको स्तर दिनानुदिन खस्किँदै गएको, प्रतिष्ठान आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र व्यवस्थापकीय अन्योलता तथा असफलताको शिकार बन्दै गएकाले भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्।
करिब एक महिना देखि ‘बीपी प्रतिष्ठान शुद्धीकरण अभियान’ लिएर प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु आन्दोलनमा छन्। प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले पनि प्रतिष्ठानमा भैरहेको विवाद चाँडो मिलाउन सरकारसँग आग्रह गरेका छन्।
असार १ गतेदेखि प्रतिष्ठान शुद्धिकरण अभियान, अनियमितता र राजनीतिकरणको विरोधमा विभिन्न माग राख्दै चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरु आन्दोलन गरिरहेका छन्।