पोखरा- गण्डकी प्रदेश सरकारले जारी गरेको स्वेतपत्रलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सफेद झुठको पुलिन्दा भन्दै आलोचना गरेको छ। नेकपा एमाले गण्डकी प्रदेश संसादीय दलका सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुधबार बुझाएको ध्यानाकर्षण पत्रमा यस्तो उल्लेख गरिएको छ।
असार २७ गते एमालेको विगतको सरकारका कामलाई आलोचना गर्दै प्रदेश सरकारले स्वेतपत्र जारी गरेको थियो।
सो स्वेतपत्रप्रति प्रतिक्रिया जनाउँदै एमालेले आज ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा पृथ्वीसुब्बा गुरुङले नेतृत्व गरेको सरकारले लिएको आधारभूत नीतिहरूमा फेरबदल गरेर वार्षिक कार्यक्रम ल्याइएका घोषित बिकास लक्ष्य प्राप्त हुन नसक्ने प्रष्ट भएको उल्लेख छ।
यसैगरी आफै प्रमुख प्रतिपक्षमा रहेर पनि सहयोग र समर्थन जनाएका विषयलाई तोडमोड गरिनु दुःखद् भएको भन्दै पत्रमा शासन प्रणालीमा प्रतिपक्षी दलहरूलाई जिम्मेवार ठान्ने विश्वाश भत्किएको उल्लेख गरिएको छ।
एमालेले यो वार्षिक विकास कार्यक्रमले गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना, अल्पकालीन लक्ष्य, दिगो विकास लक्ष्यलाई अनुशरण नगरेको भन्दै ठेक्का प्रक्रियामा बहुवर्षे आयोजनाहरू पूर्वाग्रहका आधारमा रद्द गरिएको भन्दै जवाफ मागेको छ।
विनियोजित बजेटले प्रदेश सभामा छलफल गरिए अनुसार बजेटका सिद्धान्त र प्राथमिकतामा आधारित भएको नपाइएको भन्दै नीतिगत र क्षेत्रगत रुपमा बजेटमा सुधार गर्न पनि एमालेले माग गरेको छ।
यसका साथै आफ्नो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बुँदाहरूको उपयुक्त र बैधानिक संबोधन नहुँदासम्म नेकपा (एमाले)ले प्रदेश सभाका गतिबिधिमा सहजिकरण गर्न नसक्ने चेतावनीसमेत दिएको छ।