काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँचौं पटक मुलुकको प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि उनले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन्।
देउवाको नेतृत्वमा नवगठित मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण र उपचारलाई विशेष प्रथामिकतामा राख्ने निर्णय गरेको बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए। सरकारले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।
कोभिड १९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थानका लागि एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय सरकारले गरेको छ।
कोभिड १९ का सम्बन्धमा विशेष सल्लाहकार नियुक्त गर्ने, कोभिड नियन्त्रण र उपचारका लागि हालसम्म भएका खर्च सार्वजनिक गर्ने र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरु गर्ने सरकारका प्राथमिकतामा परेका छन्। यसैगरी कोभिड १९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थानका लागि एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय सरकारले गरेको छ।
मन्त्री कार्कीका अनुसार विकास निर्माण कार्यमा तीव्रता, सार्वजनिक सेवाको प्रभावकारी वितरण, संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सरकारका अन्य प्राथमिकताका सूची हुन्।
विपत्को प्राथमिकताका साथ व्यवस्थापन, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने निर्णय पनि देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको छ। बैठकले सरकारी र सार्वजनिक निकायहरुमा योग्यता प्रणालीमा आधारित नियुक्ति र पदस्थापनका लागि आन्तरिक कार्यविधि प्रकाशनमा ल्याउने निर्णय गरेको छ।